नरेश गुप्ता

बरियारपुर,जिल्ला अस्पताल कलैयामा अक्सिजनको अभाव भएपछि कोरोना संक्रमित बिरामीको उपचार प्रभावित बनेको छ । अक्सिजन अभावमा श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचार गर्न नसकेर अन्यत्रको अस्पतालमा रिफर गर्नुपर्ने आवस्था आएको अस्पतालले जनाएको छ । जिल्लाको सबै भन्दा ठुलो अस्पतालको रुपमा रहेको अस्पतालमा अक्सिजनको अभाव भएपछि व्यवस्थापन पक्षको चौतर्फी आलोचन सुरु भएको छ । कोरोनाको महामारीमा अक्सिजनको माग बढेपछि कृत्रिम अभाव सृजना भएको हो ।

जिल्लाभरिका बिरामीको चाप हुने ५० शैयाको जिल्ला अस्पतालमा १५ वटा अक्सिजन सिलिण्डरले धान्नु पर्ने अवस्था रहेको मेडिकल सुपरिडेण्ट डा गौरव महतोले बताउनुभएको छ । महामारीको समयमा यति थोरै अक्सिजनले अस्पतालमा आउने सबै बिरामीलाई सेवा दिन नसकिएको उहाँले बताउनुभयो । जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढदो क्रममा रहेको अस्पताल स्रोतले जनाकारी गराएको छ । दैनिक एक दर्जन स्वासप्रश्वास समस्या भएका बिरामी अस्पतालमा आउने गरेको उहाँ बताउनुहुन्छ । संक्रमितको ग्राफ यसरी नै बढिरहयो भने आगामी दिनमा स्थिति झन भयावह हुने डा महतोको भनाइ छ ।

प्रदेश सरकारले घोषणा गरेको ५ लाखको अक्सिजन अहिलेसम्म पनि अस्पतालले नपाउदा समस्या भएको उहाँको भनाइ छ । अक्सिजन आपूर्तिको आफुले धेरै ठाउँमा पहल समेत गरेको तर उपलब्ध हुन नसकेको डा महतोले जानकारी गराउनुभयो । ५० वर्ष माथिका अधिकांश संक्रमितहरु श्वासप्रश्वासको समस्या देखिएकोले अस्पतालमा अक्सिजनको माग बढेको उहाँको भनाइ छ । ‘एउटा सिलिण्डरबाट १ जनालाई चार घण्टासम्म मात्र पुग्छ, उहाँले भन्नुभयो, अस्पतालमा आउने दर्जनौं बिरामीलाई १५ सिलिण्डरले कसरी पुर्याउनु ।’ अक्सिजनको अभाव भएपछि अस्पतालमा उपचारको लागि आउने बिरामीलाई वीरगन्ज रेफर गर्ने गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी जनशक्तिको अभावले पनि बिरामीको उपचार गर्न सकस भएको डा महतो बताउनुहुन्छ । अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नभएकोले स्वास्थ्यकर्मीहरुले गंभीर प्रकृतिका बिरामीलाई पनि हेर्नुपर्ने अवस्था रहेको महतोको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here