सिमरा,प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले देशमा कर्मचारीतन्त्र हाबीको भएकाले प्रदेश सरकारलाई काम गर्न समस्या परेको बताउनुभएको छ । तराई यातायात व्यवसायी संघको १५ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै बाराको सिमरामा मुख्यमन्त्री राउतले बुधबार सो कुरा बताउनुभएको हो । ‘कानुनीभित्रको छिद्रलाई समातेर कर्मचारीहरुले सेवाग्राहीको काममा आलटाल गर्छन, उहाँले भन्नुभयो, सेटिङ्ग मिलाएर गयो भने जस्तो काम पनि हुन्छ नत्र साधारण काममा पनि दुख दिने गरेका छन ।’ मुख्यमन्त्री राउतले देशमा राजनिति दलका नेताहरुको कारणले भन्दा पनि कर्मचारीतन्त्रले इमान्दारितापूर्वक काम नगर्दा समस्या भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले प्रदेश नम्बर २ को मुख्य व्यापारिक केन्द्र पथलैया–वीरगन्ज सडक खण्डमा ढुवानीका साधन पार्किङ्गको व्यवस्थापन गर्न प्रदेश सरकार चिन्तीत भए पनि विभिन्न कागजी प्रकृयाका कारण निर्माण गर्न नसकेको र त्यसको लागि सर्वपक्षीय बैठक बसेर निर्णय गर्न आफु तयार रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै तनहँु क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका सदस्य कृष्णकुमार श्रेष्ठले यातायात व्यवसायीको मागलाई राज्यले सम्बोधन गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँले व्यवसायीको जायज मागलाई सरकारले सम्बोधन गर्न नमाने आफु व्यवसायीहरुको पक्षमा जहिले पनि लडन तयार रहेको बताउनुभयो । यातायात व्यवसायीहरुको समस्या बारे आफुले मन्त्रीदेखि प्रधानमन्त्रीसंग समेत कुरा गर्ने र संसदको शुन्य समयमा पनि उठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा संघका अध्यक्ष शंकरकुमार विष्ठले यातायात ब्यवसायीहरुको समयको बारेमा सबैलाई जानकारी गराउनुभएको थियो । संघका अध्यक्ष विष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, तराई यातायात ब्यवसायी संघ सिमराको पुर्व अध्यक्ष ओमकृष्ण कार्की, संविधान सभा सदस्य शोभाकर पराजुली, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विक, शोभा लामा, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य अच्युत मैनालीलगायतले साधारण सभा सफलताको लागि शुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here