लेखक  :  कृष्णउदास खनाल
म पंचायत कालमा जन्मिएको मान्छे । म नन्मिदा भर्खर २०३६ सालको जनमत संग्रह सकिएको थियो । पंचायत ब्यवस्था बिरुद्ध नेपाली काँग्रेस लगायतका दलहरु सकृय थिए । सायद कम्यूनिष्टहरु कमैथिए त्यत्तिबेला । मलाइ लाग्छ नेतृत्व काँग्रेसको थियो । मलाइ याद त छैन,मेरो हजुबुवा गंगाधर खनाल नेपाली काँग्रेसकै नेता हुनुहुन्थ्यो । उहाँ जोताहा काण्डमा पहिला नै लागिसक्नु भएको थियो । पंडित तोयानाथ अधिकारीहरुले बाहुनहरुले जोताहा अभियान चलाउदा गोरखाको उत्तरी भेगमा हजुरबुवाले नेतृत्व लिनुभएको थियो । यही कारण र काँग्रेसमा लागेको कारण देखाउदै तत्कालित पंचायत शासकले भच्चेक प्रहरी कार्यालयबाट घरमा प्रहरी पठायो,प्रहरी चिनेकै थिए । हजुरबुवालाई लिन आएको प्रहरीलाई मैले घरमा पालेको कुकुरलाई समाउदै प्रहरी तर्फ इंकित गर्दै टोक कुकुर टोक भनेको थिएँ रे तर मलाइ याद छैन,कुकुर टोक्ने खालको भएपनि प्रहरीलाई टोकेन र हजुरबुवालाई प्रहरीले लग्यो र केही दिन भच्चेक चौकीमा राख्यो बिना कारण ।
समयसँगै मपनि हुर्कदै गएँ । सानैबाट ममा राजनीतिक प्रभाव थियो । पंचायत कालमा नै हामी कम्यूनिष्ट भएका कारण नै हाम्रो घर त्यत्तिबेला हाम्रो घर खरले छाएको थियो,त्यो घर हामी सुतेकै अवस्थामा जलाउने भन्ने केही स्थानीय काँग्रेसका अगुवाहरुबीचका कुुराकानी भएछ, त्यत्तिबेला केही भुजेल समुदायका ब्यक्तिहरुलाई हामी बिरुद्ध प्रयोग गरिएको हुन्थ्यो र उनीहरु हाम्रो घरमा आगो लगाउन तयार भए तर गाउकै एकजना अलि शिक्षित भनिएकाले घरमा आगो लगाउन हुन्न भन्दै रोकेछन् । यो बीचमा मेरो भान्दाइ कम्यूनिष्ट नेता श्रीनाथ अधिकारी लगभग भूमिगत जस्तै भइसक्नु भएको थियो । उहाँको छाप धेरै परेको थियो । पछि २०४६ सालमा बहुदलीय ब्यवस्था आयो ।म सानै थिए । ज्ञानज्योति माविमा पढ्थें सानो कक्षमा । दाइ दिदीहरु बहुदल आयो भनेर खुसी भएर बिद्यालयबाट अबीर जात्रा गरेर फर्किएको देखँ तर मैले बहुदल भनेको केहो बुझिन नत पंचायत नै बुझ्थें मैले । २०४८ सालमा चुनावको माहौल शुरु भयो । ्
मेरो घर भन्दा तल तुलसी अधिकारीको घर थियो,जसलाई म मामा भन्थें । उहाँको घरमा सांस्कृतिक कार्यक्रम थियो सायद कम्यूनिष्टहरुको तर्फबाट ।चर्चित जनवादी गायक जीवन शर्मा सहितका कलाकार सायद आएका थिए,अनि कम्यूनिष्ट नेता बाचश्चपति देवकोटा,श्रीनाथ अधिकारी लगायतका नेताहरुको सहभागिता थियो । गाउका धेरै मान्छेहरुको सहभागिता थियो । मलाइ राम्रोसंग ज्ञान छ कार्यक्रम भएको तर म ठूलो भने थिइन सबै बुझ्ने पनि थिइन । तर,त्यहाँको दृष्य एकदमै घिनलाग्यो भयो क्षणभरमा । गीत प्रश्तुत हुदै गर्दा तिनै भुजेल समुदायका केही परिचित ब्यक्तिहरु कार्यक्रम स्थलमा आए र उनीहरु सवांग नांगो भए । नांगै नाचे । हामी केटाकेटी भएकाले आमाहरुसंगै थियौं । आमाहरु कार्यक्रमबाट थुक्दै हामीलाई लिएर घरतिर आउनु भयो अनि बुवाहरु सायद भाग्नुभयो र नेताहरुलाई जोगाउन लाग्नुभयो । एकछिनमा कार्यक्रम स्थल तहसनहस भयो र त्यहाँ नांगो नाच्नेहरु हाबी भए । नेताहरु भागेका कारण उनीहरुले कुट्न भ्याएनन् त्यही कार्यक्रम भन्दा अलि माथि रहेको हाम्रो घरमा त्यही समूह आएर भैंसीलाई कुटे र पछि त्यो भैंसी मर्यो । भैंसी हाम्रो लागि एक आम्दानीको श्रोत थियो त्यत्तिबेला जो मारिदिएपछि हामीलाई ठूलो आर्थिक क्षति भयो र भैंसी ब्याउनी पनि थियो ।यो हर्कत स्थानीय केही काँग्रेसको अगुवाइमा भएको थियो ।
मेरो बाल मनमा त्यो दिनको घटनाले एकदमै नमिठो लाग्यो । यत्तिसम्मको अपराध आखिर किन मानिस गर्छ भनेर मेरो मनमा प्रश्न उठ्यो । ठूलो हुदै गर्दा बुवासंग मैले कुरा गर्दै जान थालें । हजुरबुवा कांग्रेस तर बुवाहरु मेरो सहित ठूलो बुवा खगेश्वर खनाल र काँहिलो बुरा पद्यनाथ खनाल कम्यूनिष्ट अनि साहिलो बुवा लेखनाथ खनाल काँग्रेस भएपनि उहाँलाई समेत कांग्रेस भनिएकाहरुले गरेको ज्यादतीले म चकित पर्दथें । बुवाले हजुरबुवार्लाइ पंचायत गरेको ज्यादतीमा काँग्रेसले साथ नदिएका कारण आफूहरु कम्यूनिष्ट भएको बताउनुहुन्थ्यो ।
जब जनयुद्ध सुरु भयो
जनयुद्ध तत्कालिन माओवादीको नाउमा २०५२ सालमा शुरु भयो । म कक्षा ६ मा पढ्थें त्यही ज्ञानज्योतिमा । केहो जनयुद्ध केही थाहा थिएन । बुवालाई सोधें मैले । बुवा चन्द्रप्रसाद खनालले जनयुद्ध जनताका लागि हो भन्नुभयो । शासन सत्ता,सामान्त मास्ने अनि गरिबीको सरकारका लागि हो भन्नुभयो । गरिखानेका लागि हो भन्नुभयो ।जनयुद्धको बिषयमा बुवाबाट मैले धेरै कुरा थाहा पाए सायद बुवालाई श्रीनाथ अधिकारी,बावुराम भट्टराई लगायतले भनेको थिए । जनयुद्धको शुरुवातमा त होइन त्यसको केही बर्षपछि हाम्रो घरमा नौला मान्छे आउन थाले । म पढ्दै थिए । उता बिद्यालयमा चर्को राजनीति हुने गर्दथ्यो । शहिद दिवस र प्रजातन्त्र दिवस मनाउन भेला भएका अखिलका दाइ दिदीहरुलाई नेबिसंघको नाउमा स्कूलमा निर्धात कुटिन्थ्यो । मैले मेरै आँखा अगाडि देखेको थिए । रामश्री दिदी जोृ जनयुद्धमा प्रहरीबाट बेपत्ता हुनुभयो र उमा भुजेल दिदी जो अहिले बिप्लव माअ‍ोवादीमा हुनुहुन्छ उहाँहरुलाई बिद्यालय प्रशासनको निर्देशनमा नेबिसंघले गरेको ज्यादती वास्तवमा जति बिरोध गरेपनि कम हुन्थ्यो । ज्ञानज्योतिमा अखिल बन्न र भन्न नै प्रतिबन्ध थियो । जबकी अखिल क्रान्तिकारी मात्रै भूमिगत थियो तर एमाले निकटको अखिल पांचौं र छेटौंका दाइदिदी पनि कुटिए । पढ्नज पाइएन । घरमा आउने नया मान्छेको ब्यवहार मिजासिला हुन्थे । अनि परिवर्तनका लागि उनीहरुले सुनाउने कुरा चासो दिएर मैले सुन्थें । माओवादीको नाउमा गाउमा गलत गर्नेहरुलाई सजाय हुन थाल्यो जनता खुसी भए । तर,यही बीचमा २०५६ सालमा जतिबेला म कक्षा १० मा पढ्थें मलाइ बिद्यालयबाट पक्राउ गरियो । गोरखाको जौवारीका प्रहरी निरीक्षक दीनानाथ मैनाली र भच्चेकका चौधरी थरका असइको कमाण्डमा आएको प्रहरीले स्कुल ड्रेर्समा नै मलाइ पक्राउ गर्यो र दिनभरजसो बिद्यालयकै एक कोठामा कुटेर यातना दिइयो । त्यत्तिबेला मलाई बावुराम भट्टराई र श्रीनाथ अधिकारी कहाँछ भन भनेर कुटियो अनि बन्दुक कहाँछ भन भनिनो । पछि मलाइ भच्चेक चौकी ल्याइयो । बुवासंगै भएकाले छोरा पक्राउ पर्दा बुवा रुनुभयो र बुवा रोएको देखेर म पनि धेरै रोएँ तर प्रहरीले छाडेर र मलाई करिब एकघण्टा हिडाएर भच्चेक चौकी ल्याइयो ।बाटोमा भारी बर्षाभयो लगभग म पानीमा भिजेर नै आए । चौकीमा ल्याएर खान दिएपछि करिब १२ बजेसम्म फेरि बावुराम र श्रीनाथको नाउ लिँदै पेस्तोल देखाएर फेरि कुटपिट भयो । अनि करिब १ बजे सुत्न भनियो र साथमा प्रहरीको भान्छे थिए उनी म माओवादी भएको भन्दै उनी मसंग सुत्न मानेनन् र भोलिपल्ट बिहान बुवा र ठूलो बुवाको माइला छोरा दाइलाई साक्षी राखेर कागज बनाएर छाडियो ।
अब अर्को नियती शुरु भयो । माओवादी भनेको पटक्कै नबुझेको म ठूलो नेता भए प्रहरीको नजरमा । गाउमा कतै बम पड्कियो भने चौकीमा गएर म खडा हुनुपर्दथ्यो अनि प्रहरीको कुटाइ गाली खाएर फर्कनु पर्दथ्यो । चौकीमा तारिखमा जांदा अब फर्किर आउदिन होला जस्तो लाग्थ्यो । घरका परिवारलाई यत्तिकै पीडा । यही कारणले मेरो एसएलसी पनि बिग्रियो । एसएलसीको परीक्षा दिने केन्द्रमा तिनै प्रहरी निरीक्षक मैनाली थिए,उनले जांच सकिएपछि मलाई भेट भने अनि मेरो सात्तो गइहाल्यो पढाइ स्वतः बिग्रियो । म अंग्रेजीमा फेल भए । फेरि पूरक परीक्षाको तयारी गरें । जांच दिन एक दिन हिडेर सदरमुकाम गोरखा आउनु पर्दथ्यो आए त्यहाँ आफ्नै अगाडि आफैसंग जांच दिएका केटी,केटा साथीलाई निकालेर प्रहरीले मार्यो आफ्नो होस यसै उठ्यो । जांच सकेर घर गए फेरि भच्चेक चौकीमा बोलाइयो । साथमा बुवा पनि हुनुहुन्थ्यो अनि भच्चेकले जोवारी हुदै गोरखा पठायो । करिब ८ घण्टा पैदल हिडेर फेरि सदरमुकाम गोरखा बावु छोरा आयौं प्रहरी कार्यालयमा जांनासाथ गोरखाका तत्कालिन डिएसपी पुष्कर कार्की पछि अतिरक्ति प्रहरी महानिरक्षकले थुन्न आदेश दिए । गोरखा हिरासतमा मलाई १० दिन राखियो र हरेक दिन फेरि श्रीनाथ र बावुरामको नाम लिँदै चरम यातना दिइयो । पालैपालो कुटियो । हिरासतमा गन्हाउने शौचालय थियो । साह्ै सकस पूर्ण थियो बसाइ । दिनभर यातना रातभर काम लगाउथे प्रहरी । माओवादी भनेर साह्ै गाली गर्थे । बुवालाई थुनेको थिएन । १० दिनपछि एमाले गोरखाका सचिव बावुराम थापा दाइ जिम्मेवार बस्नुभयो अनि मलाइ तारिकमा छाडियो अनि फेरि घरमा आए । दुःखको सीमा भएन । पढाइ भग्रगोल माओवादी गतिबधि बढ्दो जहा जे भएपनि मलाइ समातीहाल्ने थुनीहाल्ने ।
बल्ल एसएलसी पास भए । यो बीचमा धेरै आफूले चिनेकाहरु मारिएका थिए । मलाइ कतिबेला मार्छ ठेगान थिएन । भूमिगत हुने कि क्याम्पस पढ्ने भन्ने बिकल्प मलाइ थियो । क्याम्पस पढ्ने बातावरण नै थिएन । गोरखा क्याम्पसबाट अखिलका बिद्यार्थी थुत्दै मार्दै थियो प्रहरीले । अन्ततः परिवारको सहमतिबिना २०५८ साल भदौ २३ गते म भूमिगत भए । म इलाका सदस्य थिए । कुनै भौतिक कारवाहीमा मेरो सहभागिता थिएन ।
जब संकटकालको घोषणा भयो
त्यसपछि मेरो टाउकोको मुल्य २५ हजार तोकियो । भच्चेकमा सेना राखियो पहिला थिएन । बुवालाई पहिलो टारजेट बनाइयो । संकटकालको करिब एक हप्तापछि बुवा चन्द्रप्रसाद खनाललाई भच्चेक ब्यारेकबाट आएको सेनानी राजिव थापाको टोलीले पक्राउ गर्यो । अब भुमिगत मेरो फोटो लिएर सेना घरमा संधै बस्न थाल्यो । बुवालाई लगेपछि परिवारलाई भेट्न दिइएन र लाश समेत बेपत्ता बनाइयो । म सयौं पटक घेराबन्दीमा परें । बांच्छु भन्ने मनमा थिएन । प्रत्येक पाइलामा एम्बुस थिए । पार्टीभित्रका नेताले नराम्रोसंग प्रयोग गर्थे संयोगले बाचिथ्यो । अन्ततः त्यही सालको मंसिर अन्त्यतिर म लमजुंग स्थित सानो दिदीको घरमा पुगें र उहाँले दिएको बाटो खर्च पांचसय लिएर म वीरगन्ज आए। वीरगन्ज् आएपछि मेरो अर्को जीवन शुरु भयो । क्याम्पस पनि पढें अनि बिस्तारै पत्रकारितामा लागें र हालसम्म पत्रकार नै छु म।
यसरी हेर्दा आज जनयुद्ध दिवस । मेरो जीवन भोगाइ धेरैसंग मिल्छ । जनयुद्धका नेतृत्वकर्ताहरुमा ठूलो बिचलन आयो । जनयुद्धकै बलले यो मुलुक आज यो अवस्थामा छ । मेरो बुवाहरुको रगतबाट सिंचित गणतन्त्रमाथि धावा बोलिन्छ । गणतन्त्रको नाउमा सिन्को समेत नभांच्नोहरुको हातमा शासन सत्ता गएका कारण यो ब्यवस्था सकिन्छ भन्ने चिन्ता छ । गणतन्त्र आफैमा खराब होइन तर हिजो हाम्रै टाउकोको मुल्य तोक्ने र तोक्न उस्काउनेहरु शासक भएपछि कसरी गणतन्त्र संस्थागत होला त आजको बहस यही नै हो । यसैका कराणले मात्रै आज पूर्व एमालेका नेताकहरुले सत्ताको स्वाद चाखे अनि आज त्यही जनयुद्धलाई धारे हात लगाउनेहरुसंग दुःख लाग्छ ।जनयुद्धले मेरो जीवन बिघटन भयो,हाम्रो परिवार तहसनहस भयो तर जनयुद्धको पीडितको नाउमा अहिलेसम्म केही लिएको छैन । बुवा बेपत्ता बनाउने थापाहरुलाई मैले कमाएको कर तिरेर पाल्दैछु । यो भन्दा पीडा के हुनसक्छ । बुवाको जीवन न्यायका लागि बित्यो अनि हाम्रो जीवन न्याय माग्दा माग्दै बित्ने निश्चित छ । अपराधमा संलग्नहरुलाई मोजुदा कानुन अनुसार कारवाही भए हामीले शान्तिको सास फेर्ने थियौैं नत्र जनयुद्ध महान थियो भन्दै बस्नुको बिकल्प के नै हुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here