निजगढ, ६ असोज– निजगढ नगरपालिकाले जफत गरेको अवैध ढुङ्गा लिलाम बिक्री हुने भएको छ । नगर कार्यपालिकको मंगलबार बसेको बैठकले बिक्रीको लागि बोलपत्र आह्वान गर्ने निर्णय गरेपछि ढुङ्गा लिलाम गर्ने बाटो खुलेको हो । कार्यपालिका बैठकले जफत भएको ढुङ्गा बिक्रीको लागि बोलपत्र आह्वान गर्ने निर्णय गरेको र अब आवश्यक प्रकृया पुरा गरेर बिक्री गरिने नगरपालिका सुचना अधिकृत रविन घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकाले गत हप्ता वडा नम्बर– १ स्थित धन्सार र वडा नम्बर– ४, ९ र १० को बकैया खोला किनारामा स्थानीय केहीले निषेधित अवधिमा पनि संकलन गरेर राखेको करिव १३ हजार ८ सय १४ दशमलव ४५ घनमिटर ढुङ्गा जफत गरेको थियो । जफत भएको ढुङ्गाको प्रचलित बजार मुल्य १ करोड भन्दा बढी रहेको बताइएको छ ।

नगरपालिका प्रमुख सुरेश खनाल, उपप्रमुख लिलादेवी लामिछानेसहित कर्मचारी र सुरक्षाकर्मीको टोलीले गत बुधबारदेखि दुई दिन लगाएर ढुङ्गा जफत गरेको थियो । टोलीले ढुङ्गा घाटगद्दि स्थानमानै पुगेर नापचाँच र नगरपालिकाको चिन्ह लगाएर सम्बन्धित वडा अध्यक्ष र जनप्रतिनिधिको रोहबरमा मुचुल्का बनाएर ढुङ्गा जफत गरेको हो ।

स्थानीय केही टेक्टर धनी र व्यवसायीहरुले निषेधित अवधि (असार–भदौँ मसान्त) मा पनि खोला बगरबाट अवैध रुपमा ढुङ्गा उत्खनन गरी बिक्रीको लागि जम्मा पारेर राखेको भन्ने विभिन्न संचार माध्यममा समाचार प्रशारण भएपछि नगर कार्यपालिकाको गत भदौं २८ गते बसेको बैठकले ढुङ्गा जफत गर्ने निर्णय गरेको थियो ।

वीरगंज, सिमरा र निजगढ बजार क्षेत्रका व्यापारीबाट अग्रिम भुक्तानी लिएर खोला बगरबाट ढुङ्गा निकालेर स्थानीयले स्टक गर्दै आएका थिए । त्यसैगरी नगरपालिका वडा नम्बर– ३ को बगरे, वडा नम्बर– ५ र ६ को भमरा र वडा नम्बर– ११ को पसहा नदीमा पनि स्थानीयले अवैध रुपमा ढुङ्गा संकलन गरेर राखेको तर उक्त क्षेत्रको ढुङ्गा नगरपालिकाले जफत नगरको स्थानीयले बताएका छन ।

स्थानीयकाअनुसार असोज १ गतेबाट निकासी खुलेपछि बाहिरका व्यापारीलाई बिक्री गर्ने योजनामा ढुङ्गा स्टक हुदै आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here