पुष्पराज खतिवडा

साउन २८ गते अर्थात गत बुधबार राति १० बजेतिर अचानक पेट कटक्क दुख्यो । शौच जाउँजाउँ लाग्न थाल्यो । केही बेरपछि शौच गरेँ । शुरुमा कडापनको र लगतै पातलो दिसा भयो । त्यति नै बेला मलाई गाहे र असजिलो महशुस हुनथाल्यो । ओछ्यानमा आएर पल्टिँए ।

करिब दुई घण्टापछि अर्को पटक पनि त्यसरी नै पेट दुख्यो । फेरि शौचालय गएँ । शरीर गलेको जस्तो महशुर भइनै रहेको थियो । अब मेरो शरीर हन्हनी तातिसकेको थियो । हातगोडा र शरिरका जोर्नीहरु दुख्न थालेका थिए । निकै कष्ट भयो । योबीचमा म एकछिन निदाउँथें अनि फेरि चर्पी धाउँथे । यो क्रम त्यो रातभरि नै चल्यो ।

यस क्रममा म राति चारपटक र उज्यालो भएपछि २ पटक गरी ६ पटक शौचालय गएँ । पातलो दिशा आउथ्यो । निकै पालतो थियो । म चर्पीमा बस्नु मात्रै पथ्यो । हुनेकुरा आफैं हुँदै थियो । केही समय पर्खनैं समस्या हुन थाल्यो । शरीर गलेर लखतरान भएको थियो । पखालासँगै १०० दशमलव ७ डिग्री थियो ज्वरो । ठाडो उभिन सक्ने सामाथ्र्य घट्दै थियो । ओछ्यान पर्नु शिवाय अर्को उपाए मसँग थिएन । र पल्टीँए पनि ।

यसै क्रममा परिवारका सदस्यको सहयोगमा प्राप्त तातो पानी, गुर्जोपानी, अदुवा बेसार पानी, जीवन जलसँगै पखाला रोक्ने एलोपेथिक औषधी मेट्रोन, सिटामोल लगायतका ओखतीसमेत सेवन गर्न थालिसकेको थिएँ मैले । दवाईमुलो चलिरहेकै थियो तर पखाला भने जस्ताको त्यस्तै थियो । पखाला र ज्वरो मिलेर मलाई थप गलाउन खोज्दै थिए । दोस्रो दिनभर पनि यही प्रकृया चलिरेको थियो ।

साथी, भाइ आफन्तको फोन आएको आयै हुन्थ्यो तर फोनसमेत उठाउने तागत र जागर बाँकी थिएन मसँग । मोबाइल घण्टीको आवज सुनेर झर्को लाग्थ्यो । मोबाईल सुसुप्त मोडमा राखेर दिनभरी सुतिरहन्थ्ये म । सामान्य झाडापखाला हो १÷२ दिनमा ठिक त भइहाल्ना नि भन्ने सोचेको थिएँ मैले । तर २९ गतेबाट मलाई झन गाह्ाे बनायाे  ।

मनमा अनेकौ कुरा खेल्न थालिसकेका थिए । कतै मलाई पनि कोराना भाइरस संक्रमण त भएको छैन एकपटक यस्तो पनि सोचेँ मैले । यसै साता वीरगजंकी २० बर्षिया एक महिलाको पखालाकै कारण अस्पतालको ढोका ढक्ढक्याउँदा ढक्ढक्याउँदै उपचार नपाएर ज्यान गएको खबर सुनेको थिएँ ।

मृत्युपछि लामामा कारोना संक्रमण पुष्टि भयो भन्ने कुरा पनि खबरमा आएको थियो । मैले यस्तो सोच्नु एकहिसाबले स्वभाविक पनि हो किन कि– पखालाका बिरामी मध्ये धेरैमा कोेभिड १९ को संक्रमण पनि पाइएको छ । चिकित्सकले कोरोनाका विभिन्न लक्षण मध्ये पखाला पनि एक भएको दावी गर्दै आएका छन ।

अब मेरो मानसपटलमा पखालाले भन्दा कोरानाको त्रास सवार भइसकेको थियो । अझ बारा जिल्ला त्यसमाथि पनि मेरो घर भएको जितपुरसिमरा उपमहानगरपालिका जहाँ कोरोना संक्रमण तिव्ररुपमा फैलिरहेको छ । यस्तो अवस्थामा मलाई संक्रमण भएको छैन होला भनेर ढुक्क हुनसक्ने अवस्था थिएन मेरो लागि । म जीवन र मरणको दोसाँधमा छु कि जस्तो पनि लाग्यो । हुन त ज्वरोे र पखाला बाहेक रुघाखोकी र श्वास प्रश्वासमा कुनै समस्या थिएन मसंग । तर पनि यही आशंकामा म शुरुका दिनदेखि नै घरमा परिवारका सदस्यबाट अलग्गै बस्दै आएको थिएँ ।

एकपटक फेरि सोचेँँ अब यसरी हुदैन । हिम्मत बनाएर आफुलाई सन्तुलित पार्नुको अर्को छैन जस्तो लाग्यो । आत्मबल दरो बनाएर ल्याए । नियमित बेसार हालेको तातो पानी, औषधीय झोल, झोलिए खान÷पानसँगै सिटामोल, मेट्रोन नियमित सेवन गर्न थालेँ । बिहान बेलुका थोरै जाउलो पनि खान्थेँ । तेस्रो दिन साउन ३० गते अपराहन्नबाट ज्वरोले छाड्यो । जिउ दुख्न पनि कम भयो । चर्पी जाने क्रम घट्यो । त्यो रात मजाले निँदाए । अब ३१ अर्थात शनिबारबाट त म पुर्ण रुपमा फ्रेस भइसकेको छु । अहिले त मलाई नयाँ जीवन पाएको जस्तै लाग्न थालेको छ ।

पखालाले मलाई यतिसारो गलाएको र औषधी नै सेवन गर्नु परेको जीवनमा पहिलो पटक हो । कहिलेकाही सामान्य पखाला लाग्थ्यो । तर यत्तिकै आफै ठिक हुन्थ्यो । यस पटकको पखाला यूद्ध जिते जस्तै भयो मेरा लागि । एकातिर पखाला त छदै थियो, योसंगै कोरोना संक्रमणको त्रासले बढी सताएको र गलेको हुनुपर्छ म । यो लडाँइमा मलाई जिताउन मेरी प्राण भन्दा प्यारी श्रीमती, ममतामयी आमा, बुवा, भाई, बुहारी र छोराछोरीहरुको विशेष सहयोग र हेरचाह पनि रह्यो । पारिवारिक साथ सहयोगले मेरो आत्मवल बलियो बनेको थियो । जुनसुकै रोगलाई पनि आत्माबल दहे बनाउन सकियो भने जित्न सकिन्छ भन्ने मेरो अनुभव रहेको छ । मानिसको स्वास्थ्यमा कुनै पनि बेला समस्या आउन सक्छन् । यस्तो हुने बित्तिकै आत्तिहाल्नु हुँदो रहेनछ । यदि मैले पनि यसरी आत्माबल बलियो पार्न नसकेको भए शायद यति चाढै म स्वस्थ हुन्थ्ये वा अरु के हुन्थ्यो यसै भन्न सक्ने अवस्थामा म छैन । आत्माबल, खानपिन र सरसफाइमामात्रै पनि ध्यान दिन सकियो भने रोग र संक्रमणलाई जित्न सजिलो हुने रहेछ भन्ने मेरो अनुभव छ ।
हाम्रो समाजमा अहिले कोरोना भाईरस संक्रमणको जोखिम छ । गर्मी र जाडो मौसमको संक्रमणकालीन समयमा पनि शुरु हुन लागको छ । यस्तो अवस्थामा मौसमी फ्ल्युको प्रकोप बढन सक्छ । त्यसैले रोग र संक्रमणबाट जोगिन सबैले जडिबुटी, सिटामोल, मेट्रोनजस्ता सामान्य औषधी घरमै राख्नु राम्रो हुन्छ । तातो पानी नियमित सेवनले स्वास्थ्यलाई फाइदा नै गर्छ । त्यसैगरी सरसफाइ अर्को महत्वपुर्ण पक्ष हो । रोगबाट बच्न यसमा ध्यान दिनै पर्छ ।

हुन त मलाई कोरोना संक्रमण भएको थिएन । यसमा म निर्धक्क जस्तै छु । परिस्थितिजन्य कारणलेमात्रै मेरो आशंका बढेको थियो । तर पनि यो कोरोनाको के भर छ र । त्यसैले मलाई एकपटक परीक्षण गरेर हेर्न बिचार पनि आयो । त्यसैको लागि स्वाव दिएर आएको छु । संभवत आज वा भोलिसम्ममा रिपोर्ट पनि आइपुग्छ होला । मलाई विश्वास छ । मेरो परीक्षण रिपोर्ट मैले सोचे जस्तै हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here