पुष्पराज खतिवडा

मनहर्वा, ५ भदौँ– नेपाली महिलाहरुको महान चाड तीजको अघिल्लो दिन बिहिबार राति घरघरमा दर खाने गरिन्छ । हरितालिका तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले विभिन्न मीठा परिकार बनाएर दर खाने र नाचगान गरेर रमाइलो गर्ने गरेका हुन । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको हो । तर कोरोना संक्रमण र महामारीका कारण यस बर्षको तीजमा न रौनकता छ न त पहिलेपहिले जसरी महिलाहरुले नाँचगान गरेर दर नै खाएका छन ।

अघिल्ला वर्षहरुमा तीजको एक महिना अघिबाटै चेलीवेटीलाई निमन्त्रण गर्ने, घरघरमा दर खाने, किनमेल र तयारीमा व्यस्तहुने हाम्रो समाज यसपटक शान्त प्राय छ । नेपाली हिन्दु नारीहरुको एकमात्र ठुलो पर्व भएपनि पछिल्लो समय तीज भड्कीलो बन्दै गएको थियो । एकदुई महिना अघिबाटै पार्टी प्यालेस, बैंकटहरुमा महँगा साडी र गहना प्रर्दशन गरी मदिरापानसहितको भड्किलो तरिका अपनाउन थालिएको थियो । कोरोना महामारीसँगै गत चैत्र देखिको लकडाउन, निषेधाज्ञा, आथिक मन्दीले परिवारमा सबै भन्दा बढी प्रभावित महिलाहरुले यो बर्षको तीज परम्परा धान्न हिसाबले सामान्य रुपमा मनाउने तयारी गरेका छन ।

समाजमा भड्किलो तरिकाले तीज मनाउने परम्परा बढदै जाँदा गरिव र विपनन परिवारका महिलाहरु सामाजिक प्रतिष्ठा जोगाउने दवावमा पर्दै आएका थिए । जस्का कारण सबै भन्दाबढी घर ब्यवहार र आर्थिक बोझबाट महिलाहरु नै प्रताडित हुने अवस्था विकास भइरहेकोे प्रदेश नम्बर २ प्रदेशसभा सदस्य सीता गुरुङ्गको भनाइ छ । परंपरा र संकृतिको नाममा पछिल्लो समय मौलाउँदै गएको विकृतिप्रति अन्त्य गर्न यस वर्षको महामारीले शिक्षा दिएको आफुले गरेको उहाँको भनाइ छ ।

विपत्तिले धनी गरीब नभन्ने हुँदा पर्वहरु समानरुपमा मनाउँने संस्कारको विकास गर्न कोरोना महामारीले सुझाएको उहाँको बुझाइ छ । ‘रीतिरिवाज र परंम्परा मान्नु पर्छ, उहाँले भन्नुभयो, तर परंम्पराको नाममा विकृति मौलाउने काम हुनु राम्रो होइन ।’ कोरोनाले तडकभडक र भिडाभाड भन्दा सामान्य रुपमा पर्व मनाउने र परिवारका सदस्यहरुसंग घरमै बसेर सिमित साथीहरुको बीचमा रमाउने वातावरण निर्माण गरेको उहाँको भनाई छ । दशकौं अगाडिको जस्तो प्राकृतिक र भौगोलिक विकटता अहिले नरहेको र प्रविधिले विश्वलाई साँघुरो पारिरहेको अवस्थामा आपसी भगिनी र भाइचाराको विकास गरी पारिवारिक मिलापमा कोरोनाले मद्दत गरेको गुरुङ्गको बुझाइ छ ।

सरकारले मठ मन्दिरहरुमा भिडभाड गरेर पूजा नगर्न आग्रह गरेको र यतिखेर ती ठाउँहरु कोरोनाको हट स्पटका रुपमा विकास भैरहेको भन्दै गुरुङ्गले आफुले यसपाली घरमै बसेर तीज मनाउने तयारी गरेको उहाँले बताउनुभयो । प्रदेश सभा सदस्य गुरुङ्गले अमलेखगंजका केही महिलाहरुबीच मन्दिरहरु बन्द गरी घरमै बसेर तीज मनाउने सहमति भएको पनि जानकारी दिनुभयो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २१ अमलेगंजंका महिलाहरुले यो वर्षको तीज घरघरमै बसेर मनाउदै गरेको गुरुङ्गले सुनाउनुभयो ।

त्यसैगरी महिला संजाल बाराकी अध्यक्ष बविता जैसवाल पनि परिस्थित असहज रहेकोले सजग भएर पर्व मनाउनुपर्ने बताउनुहुन्छ । ‘हाम्रो मधेसतिर अलि हेपाहा प्रवृति पनि छ, उहाँले भन्नुभयो, के नै पो हुन्छ र, काल नआइ त्यसै मरिदैन भन्ने धेरै छन ।’ तर यस्तो सोचाइले महामारी फैलिन मद्दत गर्ने बताउनुहुन्छ ।

आफुले पनि यस वर्षको तीज घरममै बसेर मनाउने तयारी गरेको र अरु साथीभाइ र छिमेकीलाई पनि त्यस्तै सल्लाह दिएको जैसवालले सुनाउनुभयो । परम्परा र आस्था मान्नेहरुले पनि समय र परिस्थितिको ख्याल गर्नुपर्ने उहाँको भनाई छ । ‘समय सबै भन्दा बलवान कुरा हो, उहाँले भन्नुभयो, चाहे धार्मिक होस वा सामाजिक कुनै पनि काममा बलमिच्याइ गर्नु हुन्न ।’ उहाँले यसपटक आफु मन्दिरहरुमा नजाने, सामाजिक दुरी र सुरक्षा सर्तकता अपनाउँदै घर आँगनमा बसेर भगवानको फोटोमा पूजापाठ गर्ने र अरु महिलाहरुलाई पनि त्यसै गर्न सल्लाहा दिनुभयो ।

कोरोना महामारीले आर्थिक अवस्था भयावह बन्दै गईरहेको हुँदा स्थानीय उत्पादनको प्रयोगमा जोड दिनुपर्ने, पुरानै कपडा सफासुग्गर पारेर लगाउनु पर्ने र फजुल खर्च नगर्ने र घर बाहिर भिडभाडमा नजान पनि महिलाहरुलाई अनुरोध गर्न भएको छ ।

नेपाली काँग्रेस महिला संगठनकी केन्द्रिय सदस्य नारायणी रायमाझीले पनि महिला दिदी बहिनीहरुलाई यो वर्ष घरमै बसेर तीज मनाउन सल्लाह दिनुभएको छ । उहाँले आफुले पनि घरका परिवारका सदस्यहरुसंग बसेर तीज मनाउने तयारी गरेको भन्दै अन्य महिलाहरुलाई पनि त्यसै गर्न आग्रह गर्नुभयो । ‘यसअघिका वर्षहरुका नाच गान र भिडभाड गरेर तीजमा रमाईलो गरेकै हो, रायमाझीले भन्नुभयो, महामारीलाई जितियो भने आगामी वर्ष फेरि त्यसरी नै मनाऔला ।’ उहाँले आफुले ‘यसबर्ष घरमै रमाऔं, सामाजिक दुरी कायम गरेर बसौं’ भनेर भेटेसम्मकालागि सन्देश दिँदै आएको बताउनुभयो । ‘बाहिरफेर ननिस्कने, भिडभाडमा नजाने र घरमै पुजापाठ गरेर यसबर्ष तीज मनाऔं ।’ रायमाझीले भन्नुभयो ।

तीज कसरी मनाउने भन्दा पनि कारोनालाई कसरी पराजित गर्ने भन्ने कुमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । संक्रमण तीव्र रुपमा फैलिएको र परिस्थिति अनुकुल नभएको भन्दै उहाँले परिवारका सदस्यहरुकासाथ यो वर्ष अत्यन्त सुरक्षित तरिकाले पर्वहरु मनाउनु पर्ने उहाँको भनाइ छ । ‘सामाजिक दुरीको ख्याल राखौं, मास्कको अनिवार्य प्रयोग गरौं, नियमित सरसफाइमा ध्यान दिऔं,’ यसैमा सबैको भलाइ छ,’ यो वर्षको तीजमा महिला दिदीबहिनीहरुमा यही अनुरोध छ ।’  रायमाझीले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here