वीरगंज, १६ साउन– कोरोना भाइरस नियन्त्रण र न्युनीकरणको लागि पहिलो पङ्गतिमा बसेर काम गर्दै आउनुभएका वीरगंज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य परीक्षणका लागि काठमाडौं जानुभएका सरावगीको काठमाण्डौंमै स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको उहाँ आफैले बिहिबार सामाजिक सन्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु’ उहाँले फेसबुक स्टाटसमा लेख्नुभएको छ, ‘म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ, मैले छिट्टै नै कोरोना जित्ने छु ।’ उहाँले भन्नुभएको छ ।

मेयर सरावगीले स्टाटसमा कोरोना संक्रमणबाट वीरगंजवासीलाई बचाउन आफुले हरशंभव प्रयास गर्दै आएको भन्दै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पताल संचालन र व्यवस्थापनमा संघीय र प्रदेश सरकारले जिम्मेवारी नलिएपछि नागरिकको जीवन रक्षा गर्न आफुले अथक प्रयत्न गरेको पनि उल्लेख गर्नुभएको छ ।

समुदायस्तरमा कोरोना फैलिएको आशंका हुन थालेपछि मेयर सरावगीले आफनै पहलमा चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गरी हाल वीरगंजमा मास टेष्टिङ्गसमेत शुरु गर्नुभएको छ ।

महानगरपालिकको अनुरोेधमा जिल्ला प्रशासन कार्यालय पर्साले साउन ९ गतेबाट नगर क्षेत्रमा लगाएको निषेधाज्ञा अहिले पनि जारी छ । मेयर सरावगीलाई कोरोना संक्रमण भएको खबर फैलिएलगत्तै सामाजिक सञ्जालमार्फत धेरैले उहाँको शिघ्रस्वास्थ्य लाभको कामना गरिहरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here