कलैया, साउन ५– नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो । नदीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताउनुभयो । सोमबार ९ बजे ब्यारेजमा तीन लाख १५ हजार क्यूसेक पानी प्रवाह भइरहेको छ । तीन लाख प्रतिक्यूसेक पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको सिहंले बताउनुभयो । निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक भए पनि अहिले यसले ४ देखि ५ लाख क्यूसेक मात्र वहन गर्न सक्ने अनुमान छ । नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले गण्डक क्षेत्रको सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका तटीय क्षेत्रमा सजगता अपनाउन र बाढीको पूर्व सूचना प्रवाह गरिएको बताउनुभयो । तटीय क्षेत्रमा सम्भावित विपत्लाई मध्यनजर गर्दै उद्धारका लागि सुरक्षाकर्मीलाई अलर्टमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here