काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र अपुग भएमा सरकार आफैंले खरिद गर्ने भएको छ । हिजो आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र अपुग भए सरकार आफैंले खरिद गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना रोकथामका लागि देशभरमा रहेका झन्डै ५० हजार स्वास्थ्य स्वयंसेविकालाई गाउँगाउँमा खटाउने निर्णयसमेत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं उच्चस्तरीय समितिका सदस्य सचिव नारायण बिडारीका अनुसार स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत र अपुग भएमा सरकार आफैंले सोझै खरिद गर्ने निर्णय भएको बताए ।

यसैगरी, हाल निर्धारण गरिएका क्वारेन्टाइन र राहतको मापदण्डलाई परिमार्जन गर्ने निर्णय समितिले गरेको छ । हालको महामारीको बेला बिरामी ‘रिसिभ’ गर्ने जिम्मा नेपाली सेना र स्वास्थ्यकर्मीको टिमलाई दिने निर्णयसमेत भएको सचिव बिडारीले बताए ।

१४ दिनसम्म क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गरेर मात्रै घर जान दिने समितिले जनाएको छ । तर, परीक्षणमा बिरामी देखिएको खण्डमा आइसोलेसनमा राखिनेछ । यो मुलुकभरका सबै क्वारेन्टाइनमा लागू गरिने उनले बताए ।

यसैगरी, समितिको बैठकले गाउँगाउँमा रहेको ग्रामीण स्वास्थ्य स्वयंसेविकालाई उचित भत्ता दिएर परिचालन गर्ने निर्णय गरेको छ । हालको अवस्थामा गाउँगाउँमा रहेका स्वास्थ्य स्वयंसेविकालाई समेत स्वास्थ्य कार्यालयले परिचालन गर्ने गरी अगाडि बढाइनेछ ।

सरकारले ११ चैतदेखि लकडाउन जारी राख्दै आइरहेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यले सरकारले २५ चैतसम्म लकडाउन गरेको हो । सरकारका उच्च अधिकारीका अनुसार २५ चैतसम्म रहेको लकडाउन अझै केही दिन लम्बिने भएको छ । साभार : राजधानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here