हेटौंडा – पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा अगाडि बढाइएको मदन भण्डारी लोकमार्गअन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौंडा खण्डको काम अन्तिम चरणमा पुगेको छ । झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेलधुराको रूपाल पुग्ने करिब १ हजार २ सय ५० किमि लोकमार्गको २ सय ५० किमि लामो यो खण्डमा ८५ प्रतिशतभन्दा बढी काम भइसकेको छ ।

 

 

 

 

 

 

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री भागलाई जोड्ने यो खण्डलाई दुई भागमा बाँडेर काम भइरहेको छ। सिन्धुलीको भिमान–हेटौंडा १ सय १५ किमिलाई पश्चिम र सिन्धुलीको भिमान–उदयपुरको कमलामाईसम्मको १ सय ३५ किमिलाई पूर्वी खण्डका रूपमा बाँडिएको हो । सिन्धुलीदेखि हेटौंडासम्म ५० किमि र बसाहादेखि सिन्धुलीसम्म ५२ किमि सडक कालोपत्रे भइसकेको निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठले जानकारी दिए

 

 

 

 

 

 

बसाहा–सिन्धुली खण्डका ४३ पुलमध्ये ३८ वटा र सिन्धुली–हेटौंडा खण्डका ३३ मध्ये २२ वटा पुल निर्माण भइसकेका छन्। १३ महिनाभित्र यो खण्डको काम सकिने श्रेष्ठले बताए। ‘पुल यही आर्थिक वर्षको अन्तिममा सम्पन्न हुन्छन्,’ उनले भने, ‘सडकको काम अर्को फागुनसम्म सकिन्छ, अब काम धेरै बाँकी छैन।’ ०७३ कात्तिकमा सम्झौता भई निर्माण सुरु गरिएको लोकमार्ग ०७७ भदौमा सम्पन्न गर्नुपर्ने समयावधि छ।

 

 

 

 

 

मधेस आन्दोलनताका पूर्व–पश्चिम राजमार्ग ठप्प हुँदा चतरादेखि उदयपुर हुँदै सिन्धुली र मकवानपुरमा चुरेको फेदी हुँदै सवारी साधन आवतजावत गर्थे। उक्त रुटलाई सरकारले वैकल्पिक मार्गका रूपमा विकास गर्न लागेको हो। यो सडकबाट तराईका जिल्लालाई नछोई काठमाडौं पुग्न सकिन्छ। ०७२ चैत २९ को राजपत्रमा सहायक मार्ग तोकेर सडकको बीचबाट दायाँबायाँ १५र१५ मिटर सीमा तोकिएको छ। उक्त सडकलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षमा साढे ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।

 

 

 

 

 

 

 

लोकमार्गका अन्य खण्डहरूमा पनि धमाधम काम भइरहेको श्रेष्ठले जानकारी दिए। ‘केही भागमा सडक विभाग र विभिन्न आयोजनाले काम गरिरहेका छन्,’ उनले भने, ‘काम तीव्र गतिमा अघि बढेको छ, केही दिनभित्रै विस्तृत रूपमा बाहिर आउँछ।’ मुआब्जा विवादसमेत सकिएको भन्दै उनले सुदूरपश्चिम खण्डमा काम तीव्र गतिमा अघि बढ्ने बताए। हेटौंडादेखि–नवलपरासीको गैंडाकोटसम्म पूर्वपश्चिम राजमार्गको खण्ड पर्ने भएकाले त्यस क्षेत्रमा खास समस्या नभएको उनले जनाए।

 

 

 

 

 

 

गुल्मीको तम्घासदेखि सिमलचौर खण्डको ३० किमि कालोपत्रे भइसकेको छ। ‘अब त्यहाँ काम गर्न बाँकी छैन भन्दा पनि हुन्छ,’ श्रेष्ठले भने। उनका अनुसार सिमलचौरदेखि प्यूठानसम्मको खण्डमा सर्भे, डिजाइन र डीपीआरको काम भइरहेको छ। प्यूठान–दाङ खण्डको ९४ किमिमध्ये २७ किमि कालोपत्रे भइसकेको छ। यस आवमा ५० किमि कालोपत्र गर्न ठेक्का प्रक्रिया अघि बढेको छ। तुलसीपुर–सुर्खेतको बोटेचौर–भेडाबारी ३७ किमि खण्डमा डिजाइन गर्ने काम भइरहेको छ। सुर्खेतको बड्डीचौरदेखि कर्णालीसम्मको ९४ किमिमध्ये ८४ किमि फिल्ड सर्भे भएको छ।

 

 

 

 

 

 

 

कर्णालीदेखि डोटीको बीपीनगर–सहजपुर खण्डको डीपीआर भइरहेको छ। त्यसका साथै सहजपुर–बुँडर–जोगबुढा–रूपालसम्मको करिब १८ किमिमा डिजाइन भइरहेको श्रेष्ठले बताए। ‘यस क्षेत्रमा पुल कतिवटा पर्छन् भन्ने डीपीआर आएपछि मात्र थाहा हुन्छ,’ उनले भने, ‘तर सबै काम अघि बढिराखेको छ।’धरानको सर्दुखोलादेखि बाहुनडाँगीसम्मको डीपीआर भइसकेको छ। धरान–चतरा–हेटौंडा खण्डको जिम्मा पूर्वतर्फ जेट आईईसी शर्मा एन्ड लामा जेभी र पश्चिमतर्फ कालिका, स्वच्छन्द, राकेन जेभीले लिएका छन्। लोकमार्गको चौडाइ ३० मिटर हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here