फिनल्यान्डकी नेतृ सान्ना मरिन विश्वकै कम उमेरकी बहालवाला प्रधानमन्त्री बन्ने भएकी छिन् । ३४ वर्षीया मरिनले फिनल्यान्डको गठबन्धन सरकारको नेतृत्व गर्ने पक्का भएसँगै उनी विश्वकै बहालवाला कान्छी प्रधानमन्त्री हुन लागेकी हुन् । फिनल्यान्डको भने उनी तेस्रो महिला प्रधानमन्त्री हुनेछिन् । 

 

 

प्रधानमन्त्री एन्टी रिन्नेले पदबाट राजीनामा दिएपछि यातायात तथा सञ्चारमन्त्री मरिनलाई उनको सोसल डेमोक्र्याटिक पार्टीले प्रधानमन्त्री बनाउन लागेको हो । हुलाक सेवाका कर्मचारीको आन्दोलनपछि गठबन्धन पार्टी सरकारबाट बाहिरिएसँगै रिन्नेले संसद्मा विश्वासको मत गुमाएका थिए । 

 

 

मरिनले यसै साता प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने फिनल्यान्डका सञ्चार माध्यमले जनाएका छन् । उनले पाँच पार्टीको गठबन्धनको नेतृत्व गर्नेछन् । पाँचै पार्टी महिलाले हाँकेका छन् । ‘विश्वास कायमै राख्न हामीले धेरै काम गर्नु छ,’ प्रधानमन्त्री बन्न संसद्मा विश्वासको मत जितेपछि उनले भनिन् । उमेरबारे सञ्चारकर्मीले सोधेको एक जिज्ञासामा उनले भनिन्, ‘मैले मेरो उमेर वा लिंगबारे कहिल्यै पनि सोचिनँ, बरु राजनीतिमा लाग्नुको कारण सोच ।’

 

 

 

अप्रिलमा सम्पन्न निर्वाचनमा सोसल डेमोक्र्याटिक सबैभन्दा ठूलो पार्टी बनेको थियो । उनी परिवारमा विश्वविद्यालय तहसम्मको अध्ययन गर्ने एक मात्र सदस्य हुन् । सोसल डेमोक्रेट्समा आबद्ध भएपछि मरिनले राजनीतिमा एकपछि अर्को फड्को मारिन् । उनी सन् २०१५ मा सांसद भएकी थिइन् । गत जुनदेखि उनी यातायात तथा सूचनामन्त्री थिइन् । उनकी २२ महिनाकी छोरी छिन् ।

 

 

 

युक्रेनका ३५ वर्षीय ओलेक्सी होन्चारुक कम उमेरका बहालवाला प्रधानमन्त्री हुन् । त्यस्तै, न्युजिल्यान्डकी ज्यासिन्दा आर्डेन सबैभन्दा कम उमेरकी बहालवाला महिला प्रधानमन्त्री हुन् । उनी ३९ वर्षकी भइन् । यसअघि अस्ट्रियाका सेबास्टियन क्रुज सबैभन्दा कम उमेरमा चान्सलर बनेका थिए । सन् २०१७ को डिसेम्बरमा चान्सलर बन्दा उनी ३१ वर्षका थिए । उनले २०१९ को मेमा पदबाट राजीनामा दिएका थिए । साभार : नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here